अलविदा गजल सम्राट जगजीत सिंह

२३ असोज, काठमाडौं । भारतीय चर्चित गजल सम्राट जगजीत सिंहको निधन भएको छ । उहाँको मुम्बईको लीलावती अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । राजस्थानको श्रीनगरमा ८ फेब्रअरी, १९४१ मा जन्मिएका सिंहलाई ब्रेन हेमरेज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनु अघि सिंह पाकिस्तानी गजल गायक गुलाम अलीसँग कार्यक्रम प्रस्तुत गर्ने तयारीमा हुनुहुन्थ्यो ।
हिन्दी, उर्दू, पन्जाबी, भोजपुरी, नेपाली लगायतका भाषामा गजल गाइसकेका सिंहलाई भारत सरकारले सन् २००३ मा सर्वोच्च नागरिक सम्मान मध्येको एक पद्मभूषणले सम्मान गरेको थियो । सिंहले गाएको नेपाली गजल ‘कुन माया सदर भो’ नेपाली श्रोतामाझ निकै चर्चित छ ।
सिंहलाई भारतमा गजललाई पुनः प्रचलित गराएको तथा गजल गायकीमा कोरस गायनको प्रयोग गर्ने श्रेय जान्छ । गजल गायक सिंह अन्तिम मुगल बादशाह बहादुर शाह जफरले लेखेका गजल भारतमा स्वतन्त्रता आन्दोलनको १ सय ५० औं वर्षगाठको अबसरमा सन् १८५७ मा भारतीय संसदमा गाउने मध्येका एक हुनुहन्थ्यो ।
जगजीत सिंहले लामो समयसम्म आफ्ना पत्नी चित्रा सिंहसँग जोडी बनेर गाउनु भएको थियो । सिंहले सन् १९९० मा एक दुर्घटनामा आफ्नी श्रीमती चित्रा र छोरा विवेकलाई गुमाउनु परेको थियो । त्यसपछि जगजीतले गाउन नै छाडि दिनु भएको थियो । सिंहले आफ्नो श्रीमतीसँगको अन्तिम संयुक्त एल्बम ‘समवन समवेयर’ थियो ।
जगजीत सिंहले लता मंगेशकरका साथ निकालेको विशेष एल्बम ‘सजदा’ निकै चल्यो । यस बाहेक फिल्म निर्माता एवं खेलक शायर गुलजारसँग पनि उहाँले निकै काम गर्नु भएको थियो । सिंह घगचढीमा निकै रमाउनु हुन्थ्यो । उहाँ आफैँ घोडा पाल्नुका साथै घोडा दौडमा समेत भाग लिने गर्नुहुन्थ्यो ।
- अनलाइन खबर